बडा दशैंको आठाैं दिन आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै

Thankot Times

थानकोट ।

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउँदै छन् ।

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन शास्त्रसम्मत रूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गासप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

‘सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्त्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो । सात्त्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो,’ उनले भने ।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । दुर्गासप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा. गौतम बताउँछन् ।

‘राज्य सञ्चालकले त प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ,’ उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ। ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भिड लाग्ने गर्छ ।

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्दछ ।

आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीका शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरूले भने आज पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ