कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने
थानकोट ।
बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र बलियो हुँदै चक्रवातमा परिणत हुने सम्भावना रहेकाले आगामी ११ देखि १५ कात्तिकसम्म नेपालको मौसम प्रभावित हुन सक्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको पोस्ट मनसुन विशेष मौसम बुलेटिनअनुसार शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको हो ।
महाशाखाका अनुसार उक्त मौसम प्रणाली क्रमशः बलियो हुँदै ९ कात्तिकसम्म चक्रवातमा परिणत हुन सक्ने सम्भावना छ । त्यसपछि यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
उक्त प्रणालीका कारण ११ देखि १५ कात्तिकसम्म नेपालको मौसममा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । यद्यपि, यसबाट नेपालमा कति वर्षा हुने, जोखिमको स्तर कस्तो रहने र कस्तो असर पर्न सक्ने भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ ।
सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।














