तिब्बतमा शक्तिशाली भूकम्प, व्यापक मानवीय र भौतिक क्षति
थानकोट ।
चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बिहीबार राति गएको भूकम्पको केन्द्रबिन्दु नागकु क्षेत्रको बाकेन काउन्टीमा रहेको थियो । उक्त क्षेत्र तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्छ ।
भूकम्पपछि अधिकारीहरूले आपत्काल घोषणा गर्दै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पले ३३९ वटा घर भत्किएका छन् भने प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
पहिरोका कारण क्षेत्रका सडकसमेत अवरुद्ध भएका छन् । यसले गर्दा उच्च भूभागमा रहेका प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भइरहेको जनाइएको छ ।
भूकम्पका धक्का तिब्बतका काम्दो र न्यिङ्ची सहरमा समेत महसुस गरिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भवनहरू हल्लिएपछि स्थानीय बासिन्दा सडकमा निस्केर भागिरहेको देखाइएको छ । यद्यपि, ती भिडियोहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
भूकम्पको उच्च जोखिम रहेको यस क्षेत्रमा गएको शक्तिशाली धक्काले ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ । यसअघि सन् २०२३ मा चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १२० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
त्यस्तै, केही समयअघि हिमनदी भत्किएपछि आएको भीषण बाढी र पहिरोले तिब्बत तथा नेपालमा ठूलो क्षति पुर्याएको थियो । उक्त विपत्मा कम्तीमा १ हजार ४०० जनाको मृत्यु भएको र सयौँ मानिस बेपत्ता रहेको बताइएकाे छ ।














