नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश
थानकोट ।
साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएकाे खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।
लुम्बिनीसँग पराजित भएसँगै विराटनगरको प्लेअफ यात्रा समाप्त भएको छ । रोमाञ्चक खेलमा लुम्बिनीसँग पराजित भएसँगै विराटनगर भने लिग चरणबाटै बाहिरिएको छ ।
लुम्बिनीले विराटनगरलाई पराजित गरेपछि प्लेअफमा पुग्ने चारै टोलीको टुंगाे लागेको छ । यसपटक लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् ।
जितका लागि विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५–४५ रन बनाए । यस्तै, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रनको योगदान दिए ।
विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले दुई विकेट लिए भने रुपेश सिंह र चरिथ असलंकाले समान एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियाे ।
विराटनगरका लागि चरिथा असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ६४ रन बनाए । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रनको योगदान दिए ।
लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले एक–एक विकेट हात पारे ।











