१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै
थानकोट ।
नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता १०औँ राष्ट्रिय खेलकुद आज (मंगलबार) बाट सञ्चालन हुँदै छ ।
दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने प्रतियोगिता खेल पूर्वाधार तथा संघीय सरकारको उपेक्षाका कारण पटक-पटक सर्दै आएको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन १६ मंसिरमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ ।
२७ मंसिर समापन हुने प्रतियोगिताका १० खेल उद्घाटनअघि अर्थात् आजबाट सुरु हुनेछन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज पाँचवटा खेल हुँदैछन् ।
खेल तालिकाअनुसार पुरुष फुटबल, महिला क्रिकेट र ह्याण्डबल सुर्खेतमा खेलाइनेछ भने टेनिस र पौडी लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन हुनेछ ।
प्रतियोगिताका खेल आठ जिल्लामा सञ्चालन हुनेछन् । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा खेलस्थल तोकिएका छन् । कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् । सुर्खेत प्रतियोगिताको मुख्य केन्द्र हुनेछ । यहाँ कर्णाली प्रदेश रंगशालासहित विभिन्न खेलस्थलमा प्रतियोगिता सञ्चालन हुनेछन् । बाँके र बर्दियामा पनि खेल सञ्चालनका लागि स्थल तोकिएका छन् ।
राखेपको खेल तालिकाअुनसार सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराँते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङलगायतका खेल हुनेछन् । बाँकेको नेपालगञ्जमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र खोखो आयोजना गरिनेछ । सल्यानमा जुडो र कुस्ती, दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल र रुकुम पश्चिममा शारीरिक सुगठन सञ्चालन हुनेछ भने जुम्लामा फुटबलको सेमिलफाइनल खेल खेलाउने तयारी छ । यस्तै, बाँकेमा पौडी र बर्दियामा टेनिस खेल खलाइनेछ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक, अफिसियल तथा पाहुनाको आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । आवास व्यवस्थापन समितिका संयोजकसमेत रहेका उपाध्यक्ष हमालका अनुसार प्रतियोगिताका लागि ५ हजार ९०० बेड सुनिश्चित गरिएको छ । खेल तालिका र सहभागी खेलाडीको संख्याका आधारमा ८ देखि १४ मंसिरसम्म करिब ३ हजार २०० खेलाडी कर्णाली आइपुग्ने अनुमान गरिएको छ ।










