दशौं राष्ट्रिय खेलकुद: पौडीका प्रतिस्पर्धा नेपालगञ्जमा हुने, चन्द्रागिरिकी श्रयलाले तीन विधामा प्रतिस्पर्धा गर्ने
थानकोट ।
दशौं राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गत पौडी प्रतियोगिताका खेलहरू नेपालगञ्जमा हुने भएका छन् । भोलि मंगलबारदेखि पाैडीका खेलहरू सुरु हुने तालिका रहेको छ ।
नेपालगञ्ज पाैडी पोखरीमा हुने प्रतिस्पर्धामा महिला र पुरुष दुवैका प्रतिस्पर्धाहरू सञ्चालन हुने छन् । यस प्रतियोगितामा पाैडी खेलका २४ विधामा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन मंगलबार ११ विधामा प्रतिस्पर्धा गराइने राष्ट्रिय खेलकुद परिषद् ले जनाएको छ ।
४ दिनसम्म जारी रहने प्रतियोगितामा ११ टोलीका २२० जना खेलाडीले चुनाैती पेश गर्ने छन् ।
यसैबीच चन्द्रागिरि नगरपालिका-१५ तीनथानाकी श्रयला महर्जनले दशौं राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गत पौडी प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् । उनले नेपाल प्रहरी क्लबबाट प्रतियोगितामा सहभागी हुन लागेकी हुन् । महर्जनले महिला ५० मिटर बटरफ्लाइ, १०० मिटर बटर फ्लाइ र ४०० मिटर फ्रिस्टाइलमा एकल प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।










