एसिया कप राइजिङ स्टार्स: आज नेपाल र पाकिस्तान ‘ए’ बीच खेल हुँदै
थानकोट ।
एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
नेपाल आज पाकिस्तानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न चाहन्छ ।
पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो ।
आजको खेलमा जित निकाले नेपाल सेमिफाइनल दौडमा कायम रहनेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले पाकिस्तान ‘ए’लाई हराउँदा भारत ‘ए’ यूएईसँग पराजित भए नेपाल समूहबाट सेमिफाइनलमा पुग्नेछ । तर, भारत ‘ए’ले पनि जित निकालेको अवस्थामा भने नेट रनरेट निर्णायक बन्नेछ ।
पहिलो खेलमा ठूलो अन्तरले पराजित भएकाले नेपालको नेट रनरेट -२.४६१ छ । भारत ‘ए’को २.५८० र पाकिस्तान ‘ए’को १.०९० नेट रनरेट रहेको छ । भारत ‘ए’ले यूएईलाई हराएको अवस्थामा नेपाललाई नेट रनरेटमा सुधार गर्दै पाकिस्तानलाई पछि पार्नुपर्ने चुनौती हुनेछ ।
समूहमा पाकिस्तान ‘ए’ दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा छ । भारत ‘ए’ र नेपाल समान दुई अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यूएई भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।
नेपाल र पाकिस्तान ‘ए’बीच यसअघि सन् २०२३ मा भेट भएको थियो । उक्त खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको थियो ।










