एसिया कप राइजिङ स्टार्स क्रिकेटः नेपाल पाकिस्तान ए सँग ९६ रनले स्तब्ध

Thankot Times

थानकोट ।

नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ सँग ९६ रनको हार व्यहोरेको छ ।

मंगलबार दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा पाकिस्तान ‘ए’ ले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका मयन यादवले ४२ र बसिर अहमदले ११ रन बनाए । अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

नेपालका ६ ब्याटर रनकाे खाता पनि नखाेली पभेलियन फर्किएका थिए । पाकिस्तानका माेहम्मद हुसैन र सुफ्यान माेकिमले तीन-तीन, माेहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

पाकिस्तानका रोहेल नजिरले अविजित ६४ रनको योगदान गरे । उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यसैगरी, हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समाले १३–१३ रन बनाए । आठौं विकेटका लागि नजिर र दानियालबीच ७० रनको साझेदारी भएको थियो ।

यो साझेदारीलाई रासिद खानले दानियाललाई इशान पाण्डेबाट क्याच गराउँदै तोडेका थिए । नेपालका रासिदले सर्वाधिक पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका उनले ३९ रन खर्चिए । यसैगरी, अभिषेश गौतमले दुई तथा कुशल भुर्तेल र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट हात पारे । यससँगै नेपालले तीन खेलमा एक जित र दुई हारकाे नतिजासहित दुई अंकका साथ प्रतियाेगिताकाे अन्त्य गरेकाे छ ।

यसअघि भारतसँग पराजित नेपालले यूएईलाई हराएको थियाे । पाकिस्तान शतप्रतिशत जितसहित तीन खेलबाट ६ अंकका साथ समूह `बी काे विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेकाे छ । पाकिस्तानले यसअघि यूएई र भातरलाई हराएको थियाे । याे समूहबाट भारत उपविजेता बन्दै अगाडि बढेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ