नागढुंगा सुरुङमार्गको प्रगतिः हालसम्म ९ सय ९५ मिटर सुरूङ खनियो

Thankot Times

थानकोट, फागुन २३ ।

नागढुंगा सुरुङमार्ग एक महिनामा ११० मिटर मात्रै छिचोलिएको छ। गत माघ २० गतेसम्म यसको मुख्य सुरुङ ८ सय ८५ मिटर खनिएको थियो। बुधबार हुँदा सुरुङको लम्बाइ बढेर ९ सय ९५ मिटर पुगेको छ। समग्रमा एक किलोमिटर मुुख्य सुरुङ खन्ने काम सकिएको छ।

पछिल्लो महिना सुरुङ खन्ने गति केही सुस्त भएको देखिएको छ। नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाले आइतबार सार्वजनिक गरेको मासिक प्रतिवेदनमा सुरुङमार्गतर्फको मात्रै भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ। आयोजनाले आर्थिक वर्ष २०७७/७८ को पुस पहिलो साता सुरुङमार्ग खन्न थालेको थियो। अहिलेसम्ममा मुख्य सुरुङमार्गको एक तिहाइ खन्ने काम सकिएको छ।

आयोजनाका निर्देशक नरेशमान शाक्यले छोटो अवधिमै मुख्य सुरुङतर्फ ९ सय ९५ मिटर छिचोलिएको बताउनुभयो। मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटर हो। त्यसमध्ये हालसम्म ९ सय ९५ मिटर खनिसकिएको छ। गत महिनासम्म मुख्य सुरुङ काठमाडौंबाट ४ सय ३७ र धादिङबाट ४ सय ३८ मिटर खनिएको थियो।

अहिले काठमाडौंतर्फ ४ सय ९९ मिटर र धादिङतर्फ ४ सय ९६ मिटर सुरुङ खनिएको छ। इभाक्युएसन टनेलतर्फ टनेलतर्फ १ हजार ३ सय ६७ मिटर खनिएको छ। काठमाडौंतर्फ इभाक्युएसन ७ सय ९० मिटर र धादिङतर्फ ५ सय ७७ मिटर खनिएको छ। आयोजनाका अनुसार मुख्य सुरुङमार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस प्यासेजतर्फको मात्रै भौतिक प्रगति ४६ प्रतिशत भएको छ। एक महिनाअघि यी संरचनाको भौतिक प्रगति ४३.२५ प्रतिशत थियो।

आयोजनाका अनुसार अहिलेसम्म समग्र निर्माण कार्य ३३ प्रतिशत सकिएको छ। एक महिनाअघि समष्टित भौतिक प्रगति ३० प्रतिशत थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्गको शिलान्यास गरेका थिए। सुरुङ खन्ने काम भने शिलान्यासको १४ महिनापछि २०७७ पुस ८ गते सुरु भएको थियो।

आयोजनाको समष्टिगत वित्तीय प्रगति ४० प्रतिशत पुगेको छ। एक महिनाअघि यो ३७ प्रतिशत थियो। यो वित्तीय प्रगति मोबिलाइजेसन बापत भुक्तानी गरेको रकम सहितको हो। आयोजनाका अनुसार सुरुङमा तीनवटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म दुईवटा निर्माणको काम सम्पन्न भइसकेको छ। धादिङ र काठमाडौंतर्फको एउटा–एउटा अन्डरपास निर्माण सकिएको छ। काठमाडौंतर्फ अझै एउटा अन्डरपास बनाउन बाँकी छ।

आयोजनाका अनुसार चारवटा बक्स कल्भर्ट निर्माण गर्नुपर्नेमा तीनवटा तयार भइसकेको छ। त्यसैगरी तीनवटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म दुईवटा तयार भइसकेको छ। एउटा ओभरपास पनि निर्माण सम्पन्न भइसकेको छ।

आयोजनाका अनुसार इभाक्युएसन सडकतर्फ ७६ प्रतिशत र फिलिङतर्फ ३० प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनामा रात–दिन दुवै सिफ्टमा काम भइरहेको सम्बद्ध अधिकारी बताउँछन्। आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खनिरहेको छ। यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो। यो सुरुङमार्ग खन्ने तरिका मेलम्ची खानेपानी आयोजनाको जस्तै हो।

सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ। साढे ९ र ४ मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ। २.६८ किलोमिटर सुरुङ सन् २०२३ को अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य छ। धादिङ र काठमाडौंतफ ५–५ सय मिटर सडक तथा दुई फ्m्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब खर्च लाग्नेछ। यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापानी सहयोग नियोग जाइकाले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *