चेकपोष्टमा पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी, आकर्षण १६० वर्षअघिको थानकोट क्षेत्रका स्केच !

Thankot Times

थानकोट, फागुन २५ ।

बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी फागुन २८ गते शनिबार चन्द्रागिरि-०६ चेकपोष्टमा आयोजना हुने भएको छ ।

स्थानीय भलिबल खेल मैदानमा हुने प्रदर्शनीमामा चन्द्रागिरि नगरक्षेत्रमा करिब १६० वर्षअघि कोरिएका स्केचहरू सहित चन्द्रागिरि क्षेत्रका १ सय २० वटा पुराना तस्बिरहरू समावेश हुनेछन् ।

चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजना भइरहेको प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको हो । यसअघि चन्द्रागिरि १३ पुरानो नैकाप तथा चन्द्रागिरि १२ बलम्बुमा यो कार्यक्रम सम्पन्न भइसकेको छ जहाँ स्थानीयहरूको उत्साहजन सहभागिता रहेको थियो ।

थानकोट टाइम्सले मुल प्रायोजन गरेको यस प्रदर्शनीमा माथवरसिंह थापाको निमन्त्रणामा नेपाल आएका तत्कालीन पर्सियाका राजकुमारले थानकोट क्षेत्रमा कोरेका स्केच तथा ब्रिटिश इष्टइण्डिया कम्पनीका कलाकारले कोरेका स्थानीय पाटी पाैवाहरूको पानी फोटो प्रदर्शनीको मुख्य आकर्षण हुनसक्ने आयोजकले अपेक्षा राखेको बताइएको छ । प्रदर्शनीमा चन्द्रागिरि क्षेत्रका ३४ वटा तस्बिरहरू पहिले र अहिले शीर्षकमा समावेश हुनेछ । चन्द्रागिरि नगर क्षेत्रमै  पहिलो पटक भइरहेको फोटो प्रदर्शनी कार्यक्रमलाई स्थानीय देउराली युवा जागरण क्लबले सहजीकरण गर्ने क्लबका अध्यक्ष कृष्णहरि खत्रीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *