कसरी गर्ने मिर्गौलाको स्याहार ?

Thankot Times

प्रत्येक १० मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गर्छ । विश्वभरि नै यो रोगका पीडित बढिरहेकाले यसको पहिचान, उपचार तथा रोकथामका उपायबारे सचेत गराउने उद्देश्यले हरेक मार्चको दोस्रो बिहीबार मिर्गौला दिवस मनाइन्छ । नेपालमा बर्सेनि ३,००० व्यक्तिका मिर्गौला फेल हुने गरेको र तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गरेको तथ्यांक छ । सुरुमै रोग पत्ता लगाउन सके उपचार समयमै हुन सक्छ, जसबाट स्वास्थ्य तथा आर्थिक क्षति कम गर्न र जीवनै जोगाउन पनि सकिन्छ ।

विश्व मिर्गौला दिवस तदर्थ समितिले अरूका मिर्गौलाबारे मात्रै नभई आफ्नै मिर्गौलाको अवस्थाबारे पनि जानकार हुन आह्वान गरेको छ । चिकित्सक, वैज्ञानिक तथा स्वास्थ्य नीतिविज्ञहरूको संयुक्त प्रयास र सुझावबाट सरकारलाई मिर्गौला समस्यासम्बन्धी ध्यानाकर्षण गराएर ठोस नीति निर्माण र कार्यान्वयनमा जोड दिन सके मिर्गौलाका बिरामी र उनीहरूको उपयुक्त उपचारमा सघाउ पुग्न सक्छ । त्यस्तै, प्राथमिक तहका स्वास्थ्यकर्मीहरूलाई मिर्गौला रोग सम्बन्धी जानकारी, उपचार, रोगथामका उपाय र अंगदान तथा प्रत्यारोपणसम्बन्धी आवश्यक तालिम दिनुपर्छ ।

मिर्गौला मात्र नभै कुनै पनि अंग फेल हुँदा प्रत्यारोपण सर्वोत्तम उपचार हो । नेपालमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ को संशोधन २०७२ पछि नाता पर्ने प्रायः सबैले अंगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस ऐनमा दुई वा दुईभन्दा बढी परिवारमा अंग साटासाट गर्न सकिने व्यवस्था पनि छ । त्यस अनुसार, यदि एक परिवारमा कसैको अंग फेल भएको छ र अंगदाता पनि छ तर प्राविधिक कारणवश ‘क्रसम्याच’ नमिलेमा त्यस्तो व्यक्तिका लागि त्यस्तै अवस्थामा रहेको अर्को परिवारको सदस्यबाट आपसी समझदारीमा अंग साटासाट गरेर पनि प्रत्यारोपण गर्न सकिन्छ । पश्चिमा मुलुकहरूमा यस किसिमको समझदारीबाट दुई वा दुईभन्दा बढी परिवारबीच अंग साटासाट गरी प्रत्यारोपण गर्ने क्रम बढ्दो छ ।

मस्तिष्क मृत्यु भएको कुनै व्यक्तिबाट कम्तीमा १० वटा महत्त्वपूर्ण अंग (जस्तै— दुई मिर्गौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक सानो आन्द्रा, दुई आँखाका नानी तथा छाला) को दान हुन सक्छ । सडक दुर्घटना लगायतका कारणबाट काठमाडौं उपत्यकामा मात्रै बर्सेनि करिब १,००० जनाको मस्तिष्क मृत्यु हुने गर्छ जसबाट हजारौंको संख्यामा विभिन्न अंग प्राप्त हुन सक्छन् । ऐनको संशोधन अनुसार काम भएमा देशको अर्बौं रुपैयाँ स्वदेशमै सञ्चित हुन सक्छ र अंग प्रत्यारोपणबाट नागरिक विमुख हुनुपर्दैन । प्रत्यारोपण सर्वसुलभ बनाउन वर्तमान ऐन ‘कोसेढुंगा’ साबित हुन सक्छ । त्यसैले ऐनको दुरुपयोग हुन नदिई निष्पक्ष तथा पारदर्शी ढंगबाट कार्यान्वयन गराउने जिम्मेवारी हामी सबैको हो ।

मृत्यु हुनुअघि स्वेच्छाले अंग दान गर्ने मञ्जुरी नदिएको वा त्यसरी मन्जुरी नभएको अवस्थामा मृतकका परिवारको कुनै सदस्यले लिखित मञ्जुरी दिए अंगदान हुन सक्छ तर मृतकले जीवित हुँदै अंगदान नगर्ने लिखित इच्छा व्यक्त गरेको भए परिवारका सदस्यले अंगदान गर्न सक्दैनन् ।

कुनै अस्पताल वा स्वास्थ्य केन्द्रले कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गरेमा नेपाल सरकारले तोकेको समन्वय एकाइलाई तुरुन्त जानकारी गराउनुपर्छ । घोषणा गर्ने स्वास्थ्य केन्द्रले समन्वय एकाइलाई अंग झिक्न आवश्यक उपकरण तथा जनशक्ति उपलब्ध गर्नुपर्छ । अंग झिकेर सुरक्षित राख्ने, अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त पार्ने तथा अंगलाई तोकिए बमोजिमको योग्यताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने कार्य समन्वय एकाइले गर्छ । तत्कालका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले समन्वय एकाइको काम गर्छ । स्थापनाको छोटो अवधिमै उक्त केन्द्रमा हाल बर्सेनि करिब २०० जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

प्रत्यारोपण प्रक्रियालाई सहज पार्नुबाहेक नसर्ने रोगसम्बन्धी राष्ट्रिय कार्यक्रममा दीर्घकालीन मिर्गौला रोग रोकथामका कार्यक्रममा विशेष जोड दिनुपर्छ । साथै स्वस्थ मिर्गौलासहित बाँच्नका लागि स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुपर्छ । स्वच्छ खानपानको पहुँच, शारीरिक व्यायाम, स्वस्थ आहारविहार, स्वच्छ वातावरण तथा धूमपानरहित समाज स्थापना गर्न सके मिर्गौलाका बिरामीको संख्या कम गर्न सकिन्छ । मिर्गौला रोगले हुने मृत्युदर प्रत्येक वर्ष बढिरहेको छ । सन् २०४० सम्ममा मृत्युको शीर्ष पाँच कारणमध्ये एउटा हुन सक्छ यो । यो यति खतरनाक रोग हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन । मुटु, क्यान्सर, मधुमेहजस्ता रोगका तुलनामा मिर्गौला रोगसम्बन्धी जानकारी कमै सञ्चार गरिन्छ । मिर्गौला रोगसम्बन्धी ज्ञान अभिवृद्धि अहिलेको आवश्यकता हो ।- डा. पुकारचन्द्र श्रेष्ठ,

श्रेष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् हुनुहुन्छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *