तीनथानामा छोरी आफ्नै बुबाबाट पटक-पटक बलात्कृत, आमा वैदेशिक रोजगारीमा
थानकोट ।
रोजगारीका लागि आमा युरोपमा रहेका बेला घरमा संरक्षकको भूमिकामा रहेका बुबाबाटै १३ वर्षीया बालिका पटक-पटक बलात्कृत भएकी छन्।
चन्द्रागिरि नगरपालिका–१५ मा डेरा गरी बस्ने व्यक्तिले आफ्नै छोरीलाई डर-त्रास देखाई लामो समयदेखि बलात्कार गर्दै आएको खुलासा भएको हो।
यस विभत्स घटनामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियुक्त बुबाविरुद्ध ‘हाडनातामा जबर्जस्ती करणी’ मुद्दामा जन्मकैद र थप सजायको माग गर्दै जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ।
अभियोगपत्र अनुसार बालिकाकी आमा विगत १३ महिनादेखि वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा छिन्।
काठमाडौंमा १३ वर्षीया बालिका, ८ वर्षीय भाइ र बुबा एउटा कोठामा बस्दै आएका थिए।
आमा विदेश गएको केही समयपछि नै बुबाले छोरीमाथि कुदृष्टि राख्न थालेका थिए। बालिकाले प्रहरीलाई दिएको बयान अनुसार कसैलाई भनेमा मारिदिने धम्की दिँदै बुबाले उनीमाथि निरन्तर यौन शोषण गरिरहे।
पछिल्लो पटक २०८२ चैत २९ गते राति मदिरा सेवन गरी बुबाले सुतिरहेकी बालिकालाई जबर्जस्ती करणी गरेका थिए।
लामो समयसम्म बुबाको अत्याचार सहेर बसेकी बालिकाले अन्ततः मेसेन्जरमार्फत विदेशमा रहेकी आमालाई आफ्नो पीडा सुनाएपछि घटना बाहिर आएको हो।
आमाले नेपालमा रहेका भाइलाई खबर गरेलगत्तै मामाले प्रहरीमा जाहेरी दिएका थिए र सोही आधारमा प्रहरीले वैशाख २ गते अभियुक्तलाई पक्राउ गरेको थियो।
अभियुक्तले प्रहरी र सरकारी वकिलसमक्ष आफ्नो अपराध स्वीकार गर्दै नशाको सुरमा नियन्त्रण गुमाएर यस्तो कार्य गरेको बताएका छन्।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ र २२० बमोजिम बालिकाको उमेर १४ वर्षभन्दा कम भएकाले जन्मकैद र हाडनाता करणीको कसुरमा थप सजायको माग दाबी गरेको छ।
साथै, पीडितलाई अभियुक्तबाट उचित क्षतिपूर्ति र राहत कोषबाट तत्काल राहत उपलब्ध गराउन समेत अदालतसँग माग गरिएको छ।
स्वास्थ्य परीक्षण रिपोर्ट र प्रत्यक्षदर्शीको बयानले समेत घटनाको पुष्टि गरेको अभियोगपत्रमा उल्लेख छ।










