मोहिनी (बडा दशैं) धुमधामसँग मान्ने ‘थानकोटे’को छुट्टै तरिका

Thankot Times

थानकोट । 

थानकोट निवासीहरूले मोहिनी (दशैं) धुमाधामले मनाउने गर्दछन् । 

थानकोटको कोतघर (क्वाथ) मा सरकारी पूजाको पालो पर्ने व्यक्तिले जमरा राखी घटस्थापना गर्दछन् । त्यस दिनदेखी  दश दिनसम्म नित्य दैनिक समय् बजी राखेर पूजा गर्नुपर्ने चलन रहेको छ । 

घटस्थापनाको साताैं दिन हनुमानढोकास्थित दशैं घरमा लग्न गोरखाबाट ल्याइएको मध्ये केहि फूलपाती थानकोट कोतघरमा समेत ल्याइन्छ । जुन दहचोकस्थित इन्द्रस्थानमा लिन पठाइन्छ । 

इन्द्रस्थानबाट ल्याएको फूलपाती गाउँको बाहिर कुसिम्चा (हालको खरिबोट) ल्याइएपछि कोतघरबाट बाजागाजासहित लिन जाने चलन रहेको छ भने सोही साँझ कोतघरमा भित्र्याउने गरिन्छ ।

दशैंको अवसरमा दहचोकस्थित इन्द्रदहस्थित कोतघरको पुजारी मगरलाई सरकारी गुठीबाट एउटा सुँगुर पठाउने चलन अझै छ तथापी अहिले सुँगुर पठाउने चलन नगदले धानिएको छ ।

अष्टमीको दिनमा नेवारहरू कूछि भ्वय् (दुइ माना चिउरा खानुपर्ने भोज्) छ्ववयला (पोलेको मासु) को साथै अन्य भोजका परिकार केराको पातमा राखे खाने गर्दछन् । 

सो दिनको राती कोतघरमा कालरात्री पूजा हुन्छ भने कोतघरबाट महालक्ष्मी स्थानमा बलिसमेत पूजा पठाउनुपर्ने चलन छ । 

नवमीको दिन भने नेवारहरू स्याको त्याको भन्दछन् । यस दिन नजिकका गाउँहरू सतुंगल, बलम्बु, किसिपिडी, बोसिगाउँ लगायतबाट आएका भक्तजनहरूले यक्षमति खोला (न्यातिचा खुसी) (थानकोट र वाँडभन्ज्याङको सिमामा रहेको खोला)  मा स्नान गरी अनन्तभैरवको दर्शन गरी थानकोटका देवस्थलहरूमा पूजा गर्ने गर्दछन् ।

यस दिन कोतघरको पूजा कोठामा पनि बलि दिइन्छ । दिउँसो कोतघरको आँगनमा राँगो बलि चढाइन्छ । यसलार्रइ ऐइति म्येचा स्याय् गु (कोतमा राँगो बलि दिने) भनिन्छ । यसका साथै बोका र कुभिण्डोको पनि बलि चढाइन्छ । यसै दिन दिउँसो सत्र दुवाः(सत्रद्वारे) तर्फबाट ऐइति गुठीमा पालो पर्नेले महालक्ष्मी स्थानमा राँगो बलिसहितको पूजा पठाउने चलन छ । 

दशमीको दिन थानकोटमा नवदुर्गाको पूजा विसर्जन गरिन्छ । जमरा राखेको स्थानमा छोरा मान्छेहरूले जेठोदेखि पालैपालो कुभिण्डो काटेर पूजा गर्नुपर्छ । अनि जमरा काटेर ठूलाले सानालाई टीका लगाइ दिएर शुभआशिष दिने गरिन्छ । यसै गरी कोत घरमा पनि आचाजु (कर्माचार्य) ले पूजा गरी टीका लगाउने काम हुन्छ, साँझ कोत धरमा खड्ग जात्रा हुन्छ ।

कोजाग्रत पूर्णिमाको दिन पूजा कोठाको जमलरा आदि मूल ढोकाको अगाडी पिखालुखा (अष्टमातृका) मा मिल्काइन्छ ।

यसै दिनदेखि एक महिना नासल टोलमा टोलमा श्रेष्ठ समुदायको ठूलो गुठीले र आदिनारायण स्थानमा सानो गुठीले आलमता (आकाशद्वीप) बत्ती बाल्ने गर्छन् । आदिनारायण स्थानमा एक महिना भजनकीर्तन पनि हुने गर्दछ । 

यहि एक महिना राति भजनकीर्तनमा हलिमलः (हलिमलि, भुटेको विभिन्न प्रकारका गेडागुडीहरू अर्थात छुस्यामुस्या) बाँड्ने प्रचलन पनि छ ।

तेजप्रकाश श्रेष्ठको पुस्तक शोणितपुर हो प्राचीन नाउँ पुस्तक तथा अन्य स्थानीय अग्रजहरूको अनुभवबाट तयार पारिएको सामाग्री । तस्बिरहरूः प्रकाश गोपाली, सशांक गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *