युवतीको तस्बिरमा क्लिक गर्दा कीर्तिपुरका एक पुरुषको ३ लाख चट्

Thankot Times

थानकोट ।

कीर्तिपुर काठमाडौँका रमेश महर्जन (नाम परिवर्तन) लाई कात्तिक महिनाको सुरुवातदेखि उनको ह्वाट्सएप नम्बरमा बारम्बार एक युवतीको नामबाट हेल्लो हाई लगायतको म्यासेज आइरह्यो । अधबैँसे उमेरका रमेशले पनि युवतीसँग सामान्य कुराकानी गरिरहे । युवतीले बेलाबेलामा केही कामुक तस्बिरहरू पनि पठाउने गर्थिन् । रमेश ती तस्बिरहरू हेरेर मक्ख पर्थे ।

रमेश र ती युवतीबीच ह्वाट्सएपको टेक्स्ट म्यासेजमा केही अन्तरङ्ग कुराकानी समेत भए । युवतीले केही कामुक तस्बिर पनि पठाइरहिन् ।

कात्तिक ५ गते पनि कुराकानीकै क्रममा रमेशको मोबाइलमा युवतीको तर्फबाट एउटा कामुक तस्बिरसहितको लिङ्क आयो । रमेशले अन्य बेलाको जस्तै फोटो होला भनेर उक्त लिङ्कमा क्लिक गरे । जब रमेशले उक्त लिङ्कमा क्लिक गरे, त्यसपछि उनको मोबाइलमा कुनै सफ्टवेयर इन्स्टल हुन थाल्यो । रमेशले सफ्टवेयर इन्स्टल हुनबाट रोक्न खोजे, तर पनि उनले उक्त सफ्टवेयर इन्स्टल हुनबाट रोक्न सकेनन् । यो घटना कात्तिक ५ गते साँझको थियो । कुराकानी सकिएपछि रमेश पनि सुते ।

सोही रात उनको मोबाइलमा म्यासेज आउन थाल्यो । उनले प्रयोग गर्ने बैंक र कनेक्ट आईपीएसको खाताबाट सोही रात तीन लाख रुपैयाँ झिकिएको म्यासेज आयो । तर मध्यरातको समयमा उनले अरू केही गर्न सकेनन् ।

सोही रात उनको मोबाइलमा म्यासेज आउन थाल्यो । उनले प्रयोग गर्ने बैंक र कनेक्ट आईपीएसको खाताबाट सोही रात तीन लाख रुपैयाँ झिकिएको म्यासेज आयो । तर मध्यरातको समयमा उनले अरू केही गर्न सकेनन् ।

ग्राहकले लिएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतको खाता प्रयोग गरेर नै रमेशको बैंक खाताबाट अन्यत्र रकम ट्रान्सफर गरिएको थियो । तर रमेश आफैँले नगरेको र दिनु नपर्ने व्यक्तिको नाममा रकम गएपछि यो वित्तीय अपराध भएको भन्दै बैंकले रमेशलाई प्रहरीमा जान सुझायो ।

सुरुमा रमेशले बैंककै गल्ती भन्दै बैंकसँग नै झगडा गर्न थाले । आफ्नो रकम आफ्नो खातामा नै आउनुपर्ने भन्दै रमेशले बैंकसँग नै भर्पाइको माग गरिरहे । तर बैंकले दिनै नसकिने बताएपछि रमेश भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगे ।

साइबर ब्युरोमा पुगेर घटनाको बेलिबिस्तार लगाएपछि प्रहरीले कसरी त्यस्तो भयो भनेर रमेशलाई सोधे । कसैले आफ्नो क्रिडेन्सियल पाएको कुरा प्रहरीले बताएपछि रमेशले बल्ल ह्वाट्सएपमा एक युवतीले म्यासेज पठाएको र उक्त म्यासेजमा क्लिक गरेपछि कुनै सफ्टवेयर इन्स्टल भएको बताए ।

प्रहरीले कुरा बुझिहाल्यो । कुनै ग्राहकलाई फिसिङ गर्न वा उसले प्रयोग गर्ने ‘डिभाइस कम्प्रमाइज’ गरी त्यहाँ रहेका आर्थिक क्रियाकलापका क्रिडेन्सियल लगायतका डाटा ती ह्याकरले प्राप्त गरिसकेका थिए । रमेशले मोबाइलमा नै सेभ गरेर राखेका कनेक्ट आईपीएसको युजरनेम र पासवर्ड, मोबाइल तथा इन्टरनेट बैंकिङका सबै डाटाहरू युवती बनेर तस्बिर पठाउने ह्याकरको हातमा पुगिसकेको थियो । र, त्यही डाटा प्रयोग गरेर ह्याकरले रमेशका विभिन्न बैंकका खाताबाट तीन लाख रुपैयाँ चोरी गरेको थियो ।

कात्तिक ७ गते रमेश उजुरी लिएर साइबर ब्युरोमा पुगे । प्रहरीले कुन कुन बैंकबाट कति कति रकम झिकियो भनेर खोजी गर्‍यो । अनुसन्धानको क्रममा तीनवटा ट्रान्ज्याक्सनबाट प्रति ट्रान्ज्याक्सन एक लाखका दरले तीन लाख रकम झिकिएको थियो ।

सुरुमा साइबर ब्युरोले बैंक र कनेक्ट आईपीएसमार्फत् रमेशको खाताबाट ट्रान्सफर गरिएको रकम कहाँ कहाँ पुग्यो भनेर खोजी गर्‍यो । खोजी गर्दै गर्दा एक लाखको रकम प्रयोग गर्ने एक आरोपितको पहिचान समेत भइसकेको प्रहरीको दाबी छ । तर कानुनी जटिलताका कारण उनलाई पक्राउ गर्न सकिएको छैन् ।

जाहेरी दिन पीडितको अस्वीकार

मोबाइल डिभाइस कम्प्रमाइज भई अर्थात् आफ्नो मोबाइलमा रहेको सम्पूर्ण तथ्याङ्क ह्याकरको कब्जामा पुगी इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतको युजरनेम र पासवर्ड ह्याकरको हातमा पुगेको थियो । त्यही तथ्याङ्क प्रयोग गरी ह्याकरले रमेशको बैंक खाताबाट ३ लाख रुपैयाँ चोरी गरेको भए पनि रमेश त्यसलाई बैंककै गल्ती भन्दै बैंकबाटै असुल गर्ने भनिरहेका छन् । प्रवक्ता रायका अनुसार रमेशलाई जाहेरी दिन पटकपटक बोलाउँदा पनि पहिले आफ्नो गएको रकम फिर्ता चाहियो भन्दै जाहेरी दिन पनि आनाकानी गरिरहेका छन् र उनको पहिलो शर्त आफ्नो गएको रकम फिर्ता हुनुपर्ने र त्यसपछि मात्रै कानुनी प्रक्रियामा जाने बताइरहेका छन् । पीडित रमेशले जाहेरी नदिँदा पत्ता लागिसकेको आरोपित पक्राउ गर्न समेत प्रहरीले पाएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *