मतदान गर्न जाँदा के-के अनिवार्य, के निषेध ?

Thankot Times

थानकोट । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा आफ्नो परिचय पत्र खुल्ने कागजात अनिवार्य बोकेर मतदानस्थानमा जान आग्रह गरेका छन् ।

भोलि अर्थात् मंसिर  ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो मत जाहेर गर्न मतदाता परिचय पत्र वा नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पूर्जा, सवारी लाइसेन्स वा राष्ट्रिय परिचयपत्रमध्ये एउटा परिचय पत्र बोकेर जान प्रमुख आयुक्त थपलियाले आग्रह गरेका हुन् । 

उनले मतदान गर्न जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायत कुनै पनि निषेधित वस्तुहरू नबोक्न आग्रह गरेका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरू मतदान केन्द्रमा लिएर गएमा सामग्रीहरू जफत गर्ने चेतावनी दिएका छन् । 

साथै, मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका लगायतलाई आवश्यक सहयोग गर्न र पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनै पनि तर्क वितर्क नगर्न पनि सचेत गराएका छन् । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *