बागमती प्रदेशको भौतिक मन्त्रालयमा १० हजार वटा योजना माग, ठुला योजनालाई प्राथमिकता
थानकोट ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा विकास निर्माण लगायतका १० हजार वटा योजना निर्माणका लागि माग गरिएको छ । प्रदेशका १३ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रबाट योजना माग गरेर मन्त्रालयमा आउने क्रम जारी छ ।
योजना माग गर्नेहरु विभिन्न राजनीतिक दल, स्थानीय समाजसेवीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेश र संघीय सांसदहरु लगायतकाबाट योजना माग गरेर राखिएका फाइलहरुको चाङ लागेको मन्त्रालयका एक कर्मचारीले बताए ।
भौतिक मन्त्रालयमा ५ हजार वटा योजनाको नाम ठेगाना राखेर टाइप गरिसकिएको र अरु बाँकी पाँच हजार वटा योजनाको नाम ठेगाना राखेर टाइप गर्नका लागि बाँकी रहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
नयाँ खालका योजना भन्दा पनि उपभोक्ता समिति बनेर काम गर्ने गरी साना खालका योजना माग गर्नेहरु धेरै रहेका छन् । ठुला योजना माग गरेर ठेक्का मार्फत लगाएर आफ्नो गाउँको विकास गर्ने भन्दा पनि साना खालका योजना माग गर्ने र उपभोक्ता समिति बनाएर आफै काम गर्ने खालका योजना माग गरिएका छन् ।
अधिकांश योजनाहरु सडक निर्माण, ढल निर्माण, भवन निर्माण लगायतका पूर्वाधार निर्माणका योजनाहरु रहेका छन् । तर, मन्त्रालयले भने साना योजनाहरुलाई भन्दा पनि ठुला योजनालाई प्राथमिकता दिएर काम गर्ने तयारी गरिएको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
प्रदेश सरकारले प्रदेश सडक गुरुयोजनामा भएका सडकलाई प्राथमिकता दिएर बजेट छुट्याउने तयारी गरिएको मन्त्री दुलालले बताउनुभयो । बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रलाई समेटेर बजेट निर्माण गर्ने र स्थानीय तहका केन्द्रलाई पक्की सडकसँग जोड्ने गरी बजेटमा प्राथमिकता दिने मन्त्री दुलालले बताउनुभयो ।
त्यसैगरी सडक मर्मतको कामलाई पनि उत्तिकै जोड दिने उहाँले बताउनुभयो ।











