चर्च ब्वाइज युनाइटेड बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

Thankot Times

थानकोट । 

ए डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन बनेको छ।

सिजनको लिग जित्ने क्रममा चर्च ब्वाइजले मंगलबार थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्यो। अन्तिम खेलअघि उपाधि जित्न एक अंक चाहिएको चर्च ब्वाइजले मंगलबार बराबरी खेलेसँगै उपाधि जितेको हो। यो सिजन ए डिभिजन लिगमा डेब्यू गरेको चर्च ब्वाइजले अन्तिम खेलअघि ४५ अंक जोडेको छ। 

दोस्रो स्थानको साविक विजेता मछिन्द्रको दुई खेल बाँकी रहदा ३९ अंक छ। अब अन्तिम खेलमा चर्च ब्वाइज पराजित भएको अवस्थामा मछिन्द्रले बाँकी दुवै खेल जितेमा शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्नेछ। तर मछिन्द्र चर्च ब्वाइजसँग हेड टु हेडमा पछि छ। चर्च ब्वाइजले मछिन्द्रविरुद्ध पहिलो खेल बराबरी खेल्दा दोस्रो खेलमा जित निकाल्यो। 

यता चर्च ब्वाइजसँग बराबरी खेलेसँगै २९ अंक जोडेको १२औं स्थानको थ्रीस्टारमाथि रेलिगेसन दबाब बाँकी नै छ। 
 चर्च ब्वाइज २०७८ को चैतमा बी डिभिजन च्याम्पियन हुँदै ए डिभिजनमा बढुवा भएको थियो।

चर्च ब्वाइजले २०६० साल ताका फुटबल खेल्न सुरू गरेको थियो। उसले पूर्वका विभिन्न प्रतियोगितामा समेत भाग लिएको थियो।

२०६६ सालमा भने क्लबलाई औपचारिक रूपमा दर्ता गरियो। सुरूमा मोरङ उर्लाबारीको क्लबको रूपमा चिनिएको चर्च ब्वाइजको दर्ता भने ललितपुर जिल्ला खेलकुद विकास समितिमा भएको छ। कार्यालय ललितपुरकै बालकुमारी राखिएको छ।

औपचारिक रूपमा क्लब दर्ता गरेपछि चर्च ब्वाइजले सी डिभिजन छनोट खेल्न थालेको थियो। 

सुरूमा सी डिभिजनको छनोटमा १० वर्षसम्म चर्च ब्वाइज सफल भएन। २०७६ मा सी डिभिजनको छनोट पार्दै सी डिभिजन क्लब बन्न सफल भयो। २०७७ मा चर्च ब्वाइज सी डिभिजन च्याम्पियन हुँदै बी डिभिजनमा पुग्यो।

२०७८ मा बी डिभिजन च्याम्पियन बनेपछि चर्च ब्वाइजले २०७९-८० को ए डिभिजन लिग खेलेको डेब्यू सिजनमै उपाधि जित्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *