बन्दागोभी बिक्री नभएपछि बारीमा गाईवस्तु चराउँदै किसान

Thankot Times

थानकोट ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईवस्तु चराउन थालेका छन् ।

वडा नम्बर ११ मोतीपुरका किसानहरुले करिब सात बिगाहा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानहरुले दिनहुँ गाईबस्तु चराउने गरेका छन् ।

तुलसीपुर ११ मोतीपुरका किसान यज्ञबहादुर खत्रीले एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्नुभएको छ । एक कठ्ठा जग्गामा १२ क्विन्टलसम्म बन्दागोभी उत्पादन भएको छ ।

खत्रीको मात्रै एक बिगाह जग्गामा दुई सय चालिस क्विन्टल बन्दागोभी उत्पादन भएको छ । खत्रीका अनुसार त्यस गाउँमा मात्रै करिब १४ सय क्विन्टल बन्दागोभी उत्पादन भएको छ ।

किसान खत्रीले उत्पादित बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्दा करिब एक लाख रुपियाँ लाग्ने गरेकाे पनि खत्रीले बताउनुभयाे उज्यालो अनलाइनमा खबर छ।

उहाँले बजार क्षेत्रसम्म लैजादा ढुवानी खर्च नै नउठ्ने अवस्था आएपछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । बजारमा प्रति केजी पाँच रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले किसानहरुले उत्पादन गरेको बस्तु बजारीकरणमा समस्या सिर्जना भएको भन्दै पालिकाकाेतर्फबाट दुई वटा क्षेत्रमा हाटबजार स्थापनाका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँले किसानहरुलाई पकेट क्षेत्र निर्धारण बेमौसमी तरकारी खेती उत्पादनका लागि प्रोत्साहन गरिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले किसानहरुले उत्पादन गरेका बेमौसमी तरकारी बिक्री वितरण र मूल्यमा समस्या नभएपनि मौसमी तरकारी खेतीमा भने विगतदेखि नै मूल्य र बजारीकरणको समस्या रहेको बताउनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *