चन्द्रागिरि नगरका स्थानीय उत्पादन बिक्रीका लागि ३ स्थानमा बिक्री केन्द्र संचालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा उत्पादन भएका सामग्रीहरूको बिक्री केन्द्र संचालन गर्ने भएको छ ।
सोमबार नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रमा हुने स्थानीय उत्पादन संचालन गर्ने बारे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झाैता पत्रमा जनाइए अनुसार नगरको पहिलो स्थानीय उत्पादन बिक्री केन्द्र चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा स्थापना हुने बताइएको छ । जुन असार १ गतेबाट सञ्चालनमा आउनेछ।
नागढुंगा क्षेत्रमा स्थानीय उत्पदान बिक्री केन्द्र सञ्चलानार्थ प्रस्ताव आह्वान गरिएकोमा बाघ बछला बहुउद्देश्यीय सहकारी संस्थाले पेश गरेको प्रस्ताव स्वीकृत भइ चन्द्रागिरि नगरपालिका र उक्त संस्थाबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सो क्रममा नगरप्रमुख गिरीले नगरका वडा नंं ३ थानकोट तथा वडा नंं १४ नयाँ नैकापमा पनि स्थानीय उत्पदान बिक्री केन्द्र चालु आर्थिक वर्षभित्रै सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।
स्थानीय उत्पादनलाई बजारीकरण गरि नगरबासीको आर्थिक र सामाजिक स्तरोन्नतिको लागि यस किसिमको बिक्री केन्द्र संचालनमा ल्याउने तयारी भइरहेको नगरप्रमुख गिरीले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा नगरका अन्य मुख्य बजार तथा चोक हुँदै भविष्यमा उपत्यका र उपत्यका बाहिरपनि चन्द्रागिरि नगरपालिकाका स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गर्न नगरपालिकाले पहल गर्ने योजना रहेको बताइएको छ।
चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पदान बिक्री केन्द्रका लागि स्थान तथा पूर्वाधार व्यवस्थापन गर्नेछ भने प्रस्ताव स्वीकृत भएको संस्थाले बाँकी व्यवस्थापकीय कार्य गर्नेछ।












