विश्वकप क्रिकेट छनोटः साताैं स्थानको खेलमा आयरल्यान्डविरुद्ध ब्याटिङमा नेपाल
थानकोट ।
आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेपछि आयरल्यान्डका कप्तान एन्डी बलबिर्नीले फिल्डिङको निर्णय गरेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो । खेल नेपाली समयानुसार दिउँसो १२ः४५ बजे सुरु भएको छ ।
नेपालले यसअघि सातौँ स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराएको थियो । आयरल्यान्डले प्लेअफमा अमेरिकालाई पराजित गरेको थियो ।
छनोटको समूह ‘ए’मा रहेको नेपालले चारमध्ये एकमा जित र तीन खेलमा हारको नतिजा निकालेपछि सुपर सिक्समा पुग्न असफल भएको थियो । समूह ‘बी’को आयरल्यान्डले पनि चारमध्ये एकमा जित र तीन खेलमा हार व्यहोरेको थियो । दुवै टिम समूहमा चौथो भएका थिए ।
विश्वकप छनोटमा कुल १० टिम सहभागी थिए । छनोट प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान थिए ।
प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा पुगे । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।













