खानेपानी उपभोक्ता समितिको चल, अचल सम्पत्तिमा नगरको कुनै स्वार्थ छैन्- नगर प्रवक्ता खड्गी

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगर क्षेत्रमा क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूको सम्पत्ति नगरले लिने भन्ने विषय निराधार भएको प्रष्ट पार्नुभएको छ । 

चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० का सन्दर्भमा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रवक्ता खड्गीले सो ऐन विगत ४ वर्षदेखीको तयारी पछि जारी भएको बताउनुभयो ।

कसरी नगरका सबै क्षेत्रमा समान रूपमा खानेपानी सेवा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा सरोकारवाला उपभोक्ता समितिहरूसँग निरन्तर छलफल गरिएको जानकारी दिनुहुँदै प्रवक्ता खड्गीले नगरका विद्यमान खानेपानी उपभोक्ता समितिका सम्पत्ति एवं संरचनाहरूको सञ्चालनमा यसअघिकै जनशक्ति पनि परिचालन गरि खानेपानी वितरण प्रणाली यथावत रूपमा सञ्चालन हुने बताउनुभयो । 

खानेपानी उपभोक्ता समितिहरूका सुझावलाई समेटेरै खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन जारी भएको बताउनुहुँदै प्रवक्ता खड्गीले नगरले खानेपानी उपभोक्ता समितिको संचित रकम नगरले लिइ नगरको ऋण तिर्ने भन्ने बजारमा सुनाइएका विषयमा कुनै सत्यता नरहेको बताउनुहुँदै उहाँले उपभोक्ता समितिहरूले विरोध जनाएका विषयहरूमा सम्बोधन हुने प्रतिक्रिया दिनुभयो । 

चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० जारी भएपछि चन्द्रागिरि नगरमा विगत ३ सातादेखी नगरमा क्रियाशील खानेपानी उपभोक्ता समितिहरू चरणवद्ध संघर्षका कार्यक्रममा व्यस्त छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *