वर्तमान सरकारले मातातीर्थको नेपाल ट्रस्टको जग्गा हिनामिनाको मुद्दा किन हेरेन ? – केपी ओली
थानकोट ।
नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीले एमाले सरकार परिवर्तन गर्ने खेलमा नलागेको दाबी गरेका छन् ।
मंगलबार नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा अध्यक्ष ओलीले आफ्नो पार्टी जोडजाड गरेर सरकार जोगाउने र परिवर्तन गर्ने खेलमा नलागेको भन्दै ओलीले एमाले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने अभियानका साथ अगाडि बढेको सुनाए ।
बैठकमा उनले पार्टी भित्र उमेरहद हटाउने विषयमा अराजनीतिक तर्क गरेर विरोधीले आक्रमण गरेको समेत बताए । उनले ७० वर्षे उमेरहद हटाउने पार्टीको आन्तरिक विषयमाथि बाहिरका विरोधीले आफूमाथि ताकेरै आक्रमण गरेको दाबी गरे ।
ओलीले सरकार भ्रष्टाचारविरोधी कदमका नाममा स्टन्टवाजीतिर लागेको भन्दै त्यस्तो कदम उनीहरूतिरै फर्किँदै गएको टिप्पणी पनि गरे । ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्र मात्रै हो,’ ओलीले भने,‘यिनीहरूले केही गर्ने होइनन्, यो सबै स्टन्टवाजी हो । जो सबभन्दा बढी अविश्वसनीय छन्, उनीहरू नै बडो विश्वसनीयजस्ता भएका छन्, जो सबभन्दा भ्रष्ट छन्, तिनैले भ्रटाचारविरोधीको अभिनय गरिरहेका छन् ।’
ओलीले अहिलेको भ्रष्टाचारको छानबिनमा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको कुनै योगदान नभएको पनि दाबी गरे । ‘यो त अगाडिदेखि चल्दै थियो, अहिलेको सरकार, अहिलेका मन्त्रीहरू । खासगरी गृहमन्त्री र प्रधानमन्त्री लडेको राँगो मैले पछारेँ रे । अहिले आएको भ्रष्टाचारविरोधी कुरा अहिलेको सरकारको योगदान नै होइन । यो त अगाडिदेखि चल्दै थियो ।’ ओलीले अहिले पनि थुप्रै काण्डको छानबिनमा सरकारले तदारुकता नदेखाएको आरोपसमेत लगाए । ‘अहिले पनि मुद्दा कहाँ चलेको छ ? खोइ धर्मस्थलीतिरको जमिनको मुद्दा, चन्द्रागिरि नगरपालिकाको मातातीर्थस्थित नेपाल ट्रस्टको जग्गा हिनामिनाको मुद्दा खोइ ? काभ्रेस्थलीको मुद्दा खोइ ? अरू मुद्दाहरू खोइ ?’ ओलीले थपे,‘एमालेलाई बदनाम गर्ने कोसिस गर्नु बेग्लै कुरा हो नयाँ पत्रिकामा खबर छ। कुनै भ्रष्टाचारमा एमाले फसेको छैन, फस्दैन ढुक्क भए हुन्छ । अनेक हिसाबले बदनाम गर्न बोल्नु बेग्लै कुरा हो ।’












