मच्छेगाउँमा पुरुषाेत्तम मास मेलाकाे तयारी पूरा, मेला सकिएको ७ दिनभित्र खर्च सार्वजनिक गरिने
थानकोट ।
चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा हरेक पटक पुरुषोत्तम महिना (मलमासको अवधिभर) मा लाग्ने पुरुषाेत्तम मास मेलाकाे तयारी करिब सकिएको छ।
सोमबार बिहान मन्दिर क्षेत्रमा आयोजित पत्रकार सम्मेलनका क्रममा मेला व्यवस्थापन समिति संयोजक एवं चन्द्रागिरि नगरपालिका-९ का वडाध्यक्ष अच्यूत अधिकारीले सो जानकारी दिनुभएको हो।
भोलि साउन २ गतेबाट पुरुषोत्तम महिना सुरू हुँदैछ । मेला साउन ३१ गतेसम्म जारी रहनेछ ।
मेला व्यवस्थापनका लागि विभिन्न ५ वटा उपसमिति गठन गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मेला व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट, विभिन्न विद्यालयका विद्यार्थीहरू तथा अन्य स्वयंसेवकहरूले सहयोग पुर्याउने बताइएको छ।
मेला व्यवस्थित रूपमा सञ्चालनार्थ सार्वजनिक स्थानमा कुनैपनि व्यापार व्यवसाय निरूत्साहित गरिएको छ भने सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायमा अनिवार्य रूपमा मूल्यसूची देखिने गरी राख्नुपर्ने बताइएको छ । यदि कसैले सो अटेर गरेको पाइएमा तत्काल कारबाही गरिने मेला व्यवस्थापन समितिले जनाएको छ।
सो मेलामा करिब २० लाख भक्तजनले मत्स्यनारायणको दर्शन गर्ने अपेक्षा लिइएको छ।
यसैबीच मत्स्यनारायण मेलाका क्रममा हुने आम्दानी र खर्चको विवरण पुरूषोत्तममास मेला व्यवस्थापन समितिले मेला सकिएको सात दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मेलामा भएको आम्दानीमा सबैको चासो रहने भन्दै सो समितिले सो विवरण पारदर्शी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको हो।
धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिनाका रुपमा परिचित यो महिना सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि पर्दछ। अधिकमासका रुपमा समेत लिइने यस महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ।
यस अवधिमा विशेष गरी शुभकार्य गर्न नहुने धार्मिक मान्यतासमेत छ । त्यसैले यस अवधिमा नारायणको दर्शन तथा पूजा गर्नाले पाप क्षय भई मुक्ति प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।
पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान विष्णुले स्वयम आधिपत्य स्वीकार गरेको किंवदन्ती छ। सूर्यले ग्रहण नगरेको मास अर्थात महिनालाई भगवान् पुरुषोत्तम स्वयमले आधिपत्य स्वीकार गरेकाले यो मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ।अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने।
मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारिक सम्बन्ध पिरोल्ने मान्यता छ।
भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ।
किंंवदन्ती अनुसार ब्रम्हाले संसारको सृष्टि गर्नेक्रममा हैग्रिप दानवको पनि सृष्टि भयो । दानवले ब्रम्हाको आखा छली वेदलाई हरण गरेर पातल लोकमा लुकाएर राखे । विष्णुले मत्स्यको रुप धारण गरेर दानवलाई मारेर संसारको सृष्टि नास हुनबाट बचाएको नेपाल महात्म्यमा उल्लेख छ ।
मन्दिर घण्टा आकारको पौराणीक तथा कलात्मक शिखरशैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रुपको मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतसहित गरुढ हनुमान र दुवै छेऊमा शिवको लिंग छ ।
पोखरी अगाडि जलाशयमा मत्स्य कुण्ड अवस्थित शिव लिंग छ । मन्दिर भित्र पान्चायन देवता र अन्य विष्णुका रुपहरु रहेका छन् । पौराणिक शंख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुंगाको मूर्ति छन् ।














