बागमती प्रदेशका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइने
थानकोट ।
बागमती प्रदेशका बिना विभागीय मन्त्रीको जिम्मेवारीको छिनोफानो साउन १८ गते हुने भएको छ ।
११ मन्त्रालय रहेको प्रदेशमा एक मन्त्रालय थपेर आगामी बिहीबार बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति सत्ता गठबन्धनका नेताहरुबीच भएको छ । जस अनुसार प्रदेशमा अब १२ वटा मन्त्रालय हुनेछन् ।
विगत ७० दिनदेखि कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । चित्रकारलाई पछि विभाग तोकिनेगरी जेठ ७ मा मन्त्री नियुक्त गरिएको थियो ।
जिम्मेवारी नतोकिएकै कारण मन्त्री नियुक्त भएदेखि हालसम्म उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक कोठामा एक पीए (स्वकीय सचिव), एक अधिकृतस्तरका कर्मचारी (निजी सचिव) र सुरक्षार्थ एक पीएसओ लिएर बस्दै आएका छन् ।












