नेकपा माओवादी केन्द्रको प्रवक्तामा अग्नि सापकोटा नियुक्त

Thankot Times

थानकोट । 

नेकपा माओवादी केन्द्रले उपाध्यक्ष अग्नीप्रसाद सापकोटालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

यही साउन १७ देखि २१गतेसम्म चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सापकोटालाई पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी तोकेको थियो । बैठकपछि सापकोटालाई पार्टीले प्रवक्ताको जिम्मेवारी पनि दिएको हो । 

प्रवक्ता तोकिएपछि सापकोटाले बुधबार १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचार विभाग प्रमखु भएलगत्तै उनले मंगलबार दिउँसो माओवादीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूसँग अन्तरक्रिया गरेका थिए । 

उनले पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिका निर्णय तथा सरकारले गरेका समसामयिक कामहरूबारे धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन् । उनले यसअघि प्रवक्ताको समेत जिम्मेवारी निभाइसकेका छन् । त्यतिवेला ‘प्रवक्तासँग पत्रकार’ कार्यक्रम संचालन गरेका उनले राम्रो प्रतिक्रिया पाएका थिए ।  

अहिले पनि नियमित रूपमा प्रवक्तासँग पत्रकार कार्यक्रम संचालन गरिने सापकोटाले जानकारी दिएका छन् ।

उनले आगामी १६ भदौदेखि पार्टी सुदृढिकरणका लागि वडा तहसम्म संचालन गरिने अभियानमा प्रेस सेन्टरका पत्रकारहरूलाई क्रियाशील भई खट्न निर्देशनसमेत दिएका छन् । 

पार्टीको प्रचार मोर्चालाई बलियो बनाई आम जनतासम्म सरकारले गरेका राम्रो कामहरुको प्रचार गर्ने नीति लिइएको उनले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *