कार्यविधि बनाएर चन्द्रागिरिस्थित चित्लाङ भ्युटावर संचालन हुन्छ- नगरप्रमुख विष्ट
थानकोट ।
प्रदेश सरकारको लगानीमा चन्द्रागिरिको सीमाना नजिकै रहेको मकवानपुरको थाहा नगरपालिका-९ मा पर्ने चित्लाङ ‘हिल स्टेसन’ निर्माण सम्पन्न भइसकेको मकवानपुर थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिएका छन् ।
सो ‘भ्यु टावर’ लगायतका यी पर्यटन पूर्वाधार सञ्चालन र व्यवस्थापन गर्न थाहा नगरले अग्रसरता लिने बताउँदै नगरप्रमुख विष्टले काठमाडौँनजिकै भएकाले सो स्थलमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने उनको अनुमान छ । प्रदेश सरकारले बनाएका यी पूर्वाधार हामीलाई हस्तान्तरण गरेलगत्तै कार्यविधि बनाएर सञ्चालन र व्यवस्थापन गर्छौं- नगरप्रमुख विष्टले भने ।
मकवानपुर जिल्लाको चित्लाङ ‘हिल स्टेसन’ निर्माणका लागि प्रदेश सरकारले दुई करोड ९९ लाख ४१ हजार ८७३ रुपियाँ उपलब्ध गराएको थियो ।
प्रदेश सरकारको लगानीमा बनेको ‘भ्यु टावर’ हस्तान्तरण भने हुन बाँकी छ । बागमती प्रदेश सरकारको निर्माण भएका पर्यटकीय पूर्वाधारको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन एवं समुचित उपयोगका लागि कार्यविधि निर्माण भइरहेको छ । यसका लागि तयार गरिएको पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ को मस्यौदा सहमतिका लागि साउन ९ गते आर्थिक मामिला तथा योजना मन्त्रालय पठाइएको छ ।
मस्यौदामा निर्माण सम्पन्न भइसकेका ‘भ्यु टावर’ स्थानीय तहलाई हस्तान्तरण गरिने प्रावधान छ । स्थानीय तहले व्यवस्थापन गर्न नसके निजी क्षेत्रलाई र वन क्षेत्रमा बनेका ‘भ्यु टावर’ सम्बन्धित सामुदायिक वनलाई व्यवस्थापनको जिम्मा दिने गरी मस्यौदा तयार गरिएको पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशनकुमार श्रीवास्तवले जानकारी दिए ।
कार्यविधिको मस्यौदामा पर्यटन पूर्वाधार वा सम्पदा परिसर प्रवेशमा लाग्ने प्रवेश शुल्कलगायतका शुल्क स्थानीय तहले तोकेबमोजिम हुने र निजी क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी शुल्क निर्धारण गर्न सकिने उल्लेख छ । पूर्वाधारको सेवा शुल्कबाट प्राप्त रकमको कम्तीमा १० प्रतिशत पर्यटन पूर्वाधार वा सम्पदाको संरक्षण, प्रवर्धन र विकासमा खर्च गरिनुपर्ने व्यवस्था छ ।












