गुर्जुधारामा ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’, ४१ जना चालक कारबाहीमा
थानकोट ।
नागढुङ्गामा शुक्रबार गरिएको लागु पदार्थ सेवन (लापसे) चेकिङका क्रममा ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बागमती प्रदेश ०३–००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका ५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख २ २१ नम्बरको ट्रक चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका १६ का २८ वर्षीय अजय विष्टलाई नियन्त्रणमा लिएको हो ।
तिन जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यस्तै गुर्जुधारा र नागढुङ्गामा शुक्रबार नै गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई कारबाही गरिएको छ । अधिकांश सवारी साधनको पाँग्रा घिस्रिएको तथा बत्तीहरू चालु अवस्थामा नरहेको ट्राफिक प्रहरीले जनाएको छ।












