‘चन्द्रागिरि अनुशीलन’ लोकार्पण, चन्द्रागिरिको सांस्कृतिक पक्ष बुझ्न सहयोगसिद्ध हुने अपेक्षा
थानकोट ।
चन्द्रागिरि नगरको विविध सांस्कृतिक पक्ष समेटिएको पुस्तक चन्द्रागिरि अनुशीलन सार्वजनिक भएको छ।
शनिबार चन्द्रागिरि नगरपालिका ०७ थानकोट चेकपोष्टमा नेपाली साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवस (तुलसीप्रसाद जोशी) ले सो पुस्तक लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा विभिन्न १७ जना लेखकहरूको लेख तथा शोध लेख समावेश भएको प्राध्यापक कपिल लामिछानेले बताउनुभयो । लामिछानेले पुस्तकमाथि संक्षिप्त समीक्षासमेत गर्नुभएको थियो ।
पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रित, बागमती प्रदेश सभा सदस्य त्रय रमा आलेमगर, विन्दु श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायत नेपालको साहित्यको क्षेत्रमा कलम चलाउने व्यक्तित्वहरूका साथै स्थानीय बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि अनुशीलन लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले सो पुस्तक चन्द्रागिरि नगरको सांस्कृतिक पक्षहरूको अध्ययनका लागि कोशेढुंगा हुने अपेक्षा लिएको धारणा राखेका थिए ।
चन्द्रागिरि साहित्य समाजको अग्रसरतामा प्रकाशित सो पुस्तकको तेजप्रकाश श्रेष्ठ, भीमनारायण श्रेष्ठ र रविन्द्र रिजालले सम्पादन गर्नुभएको हो ।















