आज कीर्तिपुर बाघ भैरव जात्रा, यस्तो छ किंवदन्ती
थानकोट ।
कीर्तिपुर बासिन्दाका इष्टदेवताका रुपमा समेत मानिने बाघभैरवको जन्म दिनको रुपमा प्रत्येक वर्षको सिंह संक्रान्ती अर्थात भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरिने प्रचलन रहेको छ ।
जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखी कीर्तीपुरका विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ ।
नेपाल सम्वत् १०६७ तदनुसार २०१३ सालदेखि शुरु भएको यो जात्रामा खटजात्रा चलाउने परम्परा भने वि. सं. २०१४ भदौ १ गतेदेखि सुरु भएको देखिन्छ ।
जात्राको दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।
यस्तो छ कीर्तिपुरमा बाघ भैरव मन्दिर स्थापना हुनुको किंंवदन्ती
किंंवदन्ती अनुसार घना जंगलको रुपमा रहेको हाल मन्दिर भएको यो क्षेत्र उत्तरतर्फको बस्तीका गोठालाहरुको गाईवस्तु चराउने स्थल थियो । गाईवस्तु चराउन गएको समय एउटा गोठालाले माटो मुछेर बाघको मुर्ति बनाएर त्यसमा जिब्रो बनाउने भन्दै पात खोज्न गएको बेलामा त्यो माटोको बाघमा शक्ति उत्पन्न भई चरिरहेका सबै गाईवस्तु खाइदियो । त्यही बाघले नै आफ्ना गाईवस्तु खाईदिएको भन्दै गोठालाहरुले रिसले मूर्तिमा जिब्रो राखेनन् । त्यसपछि पनि मानिसहरुलाई समेत दुःख दिन थालेको त्यो बाघ बारे तान्त्रिकलाई सोध्दा बाघमा भैरव प्रवेश गरेकाले त्यस्तो भईरहेको र विधिपूर्वक भैरवको पूजाआजा गरेपछि बाघको उत्पात साम्य हुने उपाय बताएछन् । तान्त्रिकको सुझाव अनुसार भैरवको पूजाआजा गर्दा यो समस्याको अन्त्य भएपछि त्यहि स्थानमै बाघ भैरवको मन्दिर पनि स्थापना गरियो ।
मुर्ती बनाउदा जिब्रो नराखेको कारण हाल सम्म पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको जनविश्वास रहेको छ ।
तस्बिरः प्रदिप महर्जन











