लप्सी उत्पादनका लागि पकेट क्षेत्र बन्दै चन्द्रागिरि नगर
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र रहेका वन तथा अन्य सार्वजनिक वन क्षेत्रमा लप्सी, अम्बा, एभोकाडो, बाँसलगायतका छोटो समयमा नै प्रतिफल दिने जातका बोटबिरुवा रोप्ने तथा सम्वर्द्धन गर्ने भएको छ । सो कार्यका लागि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति, महिला समूह तथा अन्य सामाजिक संस्थामार्फत वृक्षारोपणका लागि बिरुवा वितरण गरेको छ ।
सो सन्दर्भमा नगर प्रमुख घनश्याम गिरीले बिरुवा वितरणका क्रममा चालु आर्थिक वर्षमा नगर क्षेत्रमा करिब १० हजार बोट लप्सीका बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिनुभयो । नगर प्रमुख गिरीले नगरपालिकाले सामुदायिक वन उपभोक्ता समिति, महिला समूह तथा अन्य सामाजिक संस्थालाई नगरपालिकाले बिरुवा उपलब्ध गराउनुका साथ साथै उक्त बिरुवाको संरक्षणको लागि पनि कार्यविधि तयार गरि नियमित रूपमा बजेट उपलब्ध समेत बताउनुभएको छ।
नागरिकको लागि उत्पादन र रोजगारसँगै आयआर्जनका पक्ष जोड्न नगरपालिकाले लक्ष्य लिएको बताउनुहुँदै नगरप्रमुख गिरीले नगदे बाली झैं नगदे रुख बिरुवाबाट हुने उत्पादनले नगरबासीको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउन अहम भूमिका खेल्ने विश्वास लिएको बताउनुभयो । चन्द्रागिरि नगरको हावापानी लप्सीको उत्पादनको लागि उपयुक्त मानिन्छ ।
चन्द्रागिरि नगरका १५ वटा वडाहरूमा २३ वटा सामुदायिक वन उपभोक्ता समितिहरू रहेका छन् । नगरका सबै सामुदायिक वन समुहहरूका लागि क्रमश बोट विरूवा वितरण गरिने नगरपालिकाले जनाएको छ ।















