वर्षाले ट्राफिक व्यवस्थापनमा समस्या, दुरसञ्चार क्षेत्रको सडकमा खाडल पर्दा दुई पांग्रेलाई सास्ती
थानकोट ।
बुधबार बिहानैबाट परेको वर्षाका कारण काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ ।
उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।
कलंकी-नागढुंगा सडक खण्डको दुरसञ्चार क्षेत्रमा सडकमा पानी जम्न थालेपछि केहीबेर सो क्षेत्रमा सवारी साधनहरू लाम लागेका थिए । नागढुंगा सुरुङ मार्गको फ्लाइओभर निर्माणका लागि सो क्षेत्रमा सडक एक-एक लेन मात्रै सुचारू गरिँदा तथा सो एक लेनमा समेत खाडल परेका कारण सवारी साधन सुस्त गुडेका हुन् ।
अविरल वर्षाका कारण उपत्यकाका सिंहदरबार, माइतीघर, थापाथली, गोंगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।












