सडकमा पहिरो खस्दा कान्ति लोकपथ अवरूद्ध
थानकोट ।
काठमाडाैं- हेटाैंडा जोड्ने छोटो दुरीको सडक मार्ग कान्तिलोकपथ अवरुद्ध भएको छ ।
साना सवारीका साधनहरु सञ्चालन हुँदै आएको यस मार्ग बिहीबार रातिबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।
मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र भीमफेदी-कुलेखानी सडकखण्डमा यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताए ।












