थानकोट-चित्लाङ सडकका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण
थानकोट ।
गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) को यथासिघ्र स्तरोन्नतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकरात्मक देखिएका छन् ।
बिहीबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको नेतृत्वमा थाहा नगरपालिकाका मेयर विष्णु विष्ट सहितको टोलीलाई प्रधानमन्त्री दाहालले सडकको स्तरोन्नतिका लागि पहल गर्ने आश्वासन दिएको बताइएको छ । सो क्रममा अर्थमन्त्री प्रकाशशरण महतपनि प्रधानमन्त्रीसँगै थिए ।
संघीय सरकारले (गणेशमान सिंह मार्ग) थानकोट-चन्द्रागिरि-चित्लाङ सडकलाई चालु आर्थिक वर्षको बजेट एवं नीति तथा कार्यक्रममा प्राथमिकतामा नराखेको भन्दै प्रदेश मन्त्री मोक्तानको नेतृत्वमा थाहा नगरका मेयर विष्णु विष्टसहित निवर्तमान मेयर लवशेर बिष्ट र नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिती सदस्य इन्द्रबहादुर श्रेष्ठ लगायतका प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
सो क्रममा प्रधानमन्त्री दाहाल तथा अर्थमन्त्री महतले यहि वर्ष थानकोट-चित्लाङको स्तरोन्नतिका लागि बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएको भेटमा सहभागी माओवादी नेता इन्द्रबहादुर श्रेष्ठले बताए ।
सो सडकका विषयमा बुधबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थाहा नगरका निवर्तमान मेयर लवशेर बिष्टले बताए।
सो क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले थाहा नगरपालिकालाई राजधानी काठमाडौसँग जोड्ने छोटो मार्ग गणेशमान सिंह मार्गको स्तरोन्नतिको लागि पहल गर्ने बताएका थिए ।
थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले सरकारले ५०औं वर्षदेखि गरेको लगानीको प्रतिफल आउने अवस्था निर्माण भएको हुँदा यस सडकलाई तत्काल निर्माण सम्पन्न गरेर संघीय राजधानी देखि प्रदेश राजधानी हेटौंडासम्मको यात्रा दुरी छोट्याइ राजधानी काठमाडौलाई दैनिक रुपमा आवश्यक पर्ने करिब ४० प्रतिशत ताजा तरकारी आपूर्ति गर्ने क्षेत्र थाहा, इन्द्रसरोवर, भिमफेदी, कैलाशबाट दुरी घट्न गई उत्पादन र उपभोक्ता दुवै लाभान्वित हुने तथा इन्धन बचत बाट राष्ट्र नै लाभान्वित हुने हुँदा उक्त सडकको चाँडै निर्माण सम्पन्न गर्न प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।














