काठमाडाैं जिल्ला अन्तरपालिका फुटसल प्रतियोगिताको उपाधी काठमाडाैं महानगरपालिकालाई

Thankot Times

थानकोट ।

लाैह पुरुष गणेशमान सिंहको २६औ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडाैंमा आयोजित काठमाडाैं जिल्लाका स्थानीय तहबीच फुटसल प्रतियोगिताको उपाधी काठमाडाैं महानगरपालिका वडा नं. ६ ले जितेको छ ।

प्रतियोगिताको फाइनलमा कागेश्वरी मनोहरा नगरपालिकाको चुनाैती २-० ले पन्छाउँदै काठमाडाैं महानगरपालिका वडा नं. ६ ले उपाधी चुमेको हो ।

जितसँगै काठमाडाैं महानगरपालिका वडा नं. ६ ले २ लाख २२ हजार २ सय २२ रूपैयाँ तथा उपविजेता कागेश्वरी मनोहरा नगरपालिकाले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार पाएको छ ।

यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार पाए।

महाराजगञ्जस्थित ढुकु फुटसलमा सम्पन्न प्रतियोगितामा कागेश्वरी मनोहरा नगरपालिकाका नवराज पाैडेल उत्कृष्ठ खेलाडी घोषित हुँदा कागेश्वरी मनोहराकै अखिलेश कार्की उच्च गोलकर्ता तथा काठमाडाैं महानगरका सन्तोष भण्डारी उत्कृष्ठ गोलरक्षक चुनिए ।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका सदस्यहरूलाई पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंह लगायतले पुरस्कार वितरण गरेका थिए ।

चन्द्रागिरि नगरपालिका दोश्रो चरणमा तारकेश्वर नगरपालिकासँग ३-२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा टोखासँग पराजित चन्द्रागिरि नगरले टोखाविरूद्ध उजुरी गरेपछि चन्द्रागिरि विजयी घोषित हुँदै दोश्रो चरणका लागि छनोट भएको थियो ।

नेपाल तरूण दल काठमाडाैं जिल्ला समितिले आयोजना गरेको सो प्रतियोगितामा काठमाडाैं जिल्लाका ११ वटै पालिकाबाट छनोट भएका टोलीले प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *