विभिन्न कार्यक्रमका लागि चन्द्रागिरि नगरमा झण्डै ६ करोड रूपैयाँ खर्चँदै गैरसरकारी संस्थाहरू
थानकोट ।
चन्द्रागिरि नगरपालिका चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम गर्नका लागि हालसम्म ६ वटा राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय गैरसरकारी संस्थाहरूले स्वीकृति माग गरेका छन् ।
नगरको सामाजिक विकास शाखाका अनुसार ती संस्थाहरूले ५ करोड ९४ लाख १७ हजार ९ सय ५१ रूपैयाँ बजेट चन्द्रागिरि नगरमा ६ महिनादेखी ५ वर्षको अवधिमा गरिने विविध कार्यक्रममा खर्चने जनाइएको छ ।
प्राप्त विवरणअनुसार हेल्पिङ ह्यान्ड फर रिलिफ एण्ड डेभलपमेन्ट संस्थाले नगर क्षेत्रमा शिक्षा र सीप विकास, पानी तथा सरसफाई, स्वास्थ्य र पोषण, माैसमी सहयोग कार्यक्रमका लागि ४ करोड ५७ लाख १४ हजार १ सय ३९० रूपैयाँ ५ वर्षको अवधिमा खर्चनका लागि स्वीकृत माग गरेको छ । सो रकम संयुक्त राज्य अमेरिकास्थित हेल्पिङ ह्यान्ड फर रिलिफ एण्ड डेभलपमेन्टबाट प्राप्त हुने जनाइएको छ ।
यसैगरी परियोजनाको अवधि नखुलाइएको मानव बेचबिखन रोकथाम कार्यक्रमका लागि साहसी महिला नेपालले चन्द्रागिरि नगरमा ३५ लाख रूपैयाँ खर्चन अनुमति मागेको छ । सो रकमको स्रोत पनि खुलाइएको छैन् ।
चन्द्रागिरि नगरमै एफ जे एस अमेरिकाले उपलब्ध गराउने ६५ लाख रूपैयाँ बजेटबाट एक वर्षसम्म महिला सशक्तीकरण कार्यक्रमका लागि तान नेपालले पनि स्वीकृत माग गरेको छ।
यस्तै योग मन्दिरमा खाना पकाउनको लागि दाउरा र ग्यास खरिद तथा बिजुलीको बिल भुक्तानीको कार्यका लागि सोहं फाउन्डेशन अमेरिकाले दिने १० लाख रूपैयाँ ६ महिना अवधिमा खर्चन श्रीअरविन्द योग मन्दिरले स्वीकृत माग गरेको बताइएको छ ।
यस्तै चन्द्रागिरि नगरमा चिल्ड्रेन होलिस्तिक डेभलेपमेन्ट कार्यक्रमका लागि जर्मनीको वान लभ वान वर्ल्डबाट प्राप्त हुने ३ लाख १८ हजार ५ सय रूपैयाँ खर्चन गर्न वान लभ वान वर्ल्डले स्वीकृति माग गरेको छ ।
यस्तै ६ महिना अवधिको इन्गेज-कम कार्यक्रमका लागि सोडेक नेपालले चन्द्रागिरि नगरमा स्वीकृतिका लागि आवेदन पेश गरेको छ । सो कार्यक्रमका लागि २३ लाख ८५ हजार ३ सय २१ रूपैयाँ खर्च हुने बताइएको छ ।














