एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, खुला सदस्यमा चन्द्रागिरिका सन्तोष खड्का विजयी
थानकोट ।
नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् ।
ढुंगेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।
यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी सिन्धुपाल्चोकका हस्त पण्डितले ५६७ मत पाएका छन् ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा शुक्रबार मतदान भएको थियो । जसमा ११३५ मत खसेको थियो ।
यसैबीच नेकपा एमाले बागमती प्रदेश प्रथम अधिवेशनबाट काठमाडौं जिल्ला खुल्ला युवाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिका ८ मातातीर्थका खड्का निवर्तमान वडाध्यक्ष समेत हुन् ।












