विश्वकप क्रिकेटमा न्युजील्याण्डको लगातार दोश्रो जित, आज दुई खेल हुँदै

Thankot Times

थानकोट ।

भारतमा जारी विश्वकप क्रिकेटमा न्युजील्याण्डले लगातार दोश्रो जित दर्ता गरेको छ ।

सोमबार साँझ सम्पन्न खेलमा एशोसियट मुलुक नेदरल्यान्ड्सविरूद्ध किवी टोली ९९ रनले विजयी भयो ।

यो जितपछि टोली ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।

जवाफी इनिङ्समा नेदरल्याण्ड्सको टोली ४६.३ ओभरमा २ सय २३ रनमा अलआउट भयो । नेदरल्यान्ड्स विरुद्ध बायाँ हाते स्पिनर मिचेल स्यान्टनरले ५९ रन दिएर ५ विकेट लिए । उनी विश्वकपमा ५ विकेट लिने न्यूजिल्याण्डका पहिलो स्पिनर बनेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुने तालिका रहेको छ । जहाँ दिनको पहिलो खेलमा नेपाली समय अनुसार बिहान १०ः४५ बजे बंगलादेशले साबिक च्याम्पियन इंग्ल्याण्डको सामाना गर्नेछ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो भने इंग्ल्याण्ड न्युजील्याण्डसँग स्तब्ध बनेको थियो ।

यसैगरी दिनको दोश्रो खेलमा पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सविरूद्ध जित हात पार्दा श्रीलंका दक्षिण अफ्रिकासँग स्तब्ध बनेको थियो । सो खेलमा कम्तीमा ५ वटा विश्व कीर्तिमान बनेका थिए ।

यी दुईबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *