थाहा नगरस्तरीय अन्तर वडा कपको उपाधी वडा नं. ७ आग्रालाई
थानकोट ।
चन्द्रागिरि नगरसँग सीमा जोडिएको मकवानपुर जिल्लाको थाहा नगर पालिकास्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ आग्राले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १ कुन्छाललाई २-१ गोल अन्तरले पराजित आग्राले उपाधि हात पारेको हो ।
जितसँगै आग्राले नगद १ लाखसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ ।
उपविजेता कुन्छालले नगद ५० हजार, शिल्ड मेडल तथा प्रमाण पत्र पायो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर थाहा-१ को प्रचण्ड गोपाली भए भने उत्कृष्ट खेलाडी वडा नम्बर १ कै टिम क्याप्टेन रोहित श्रेष्ठ घोषित भए । त्यस्तै सबैभन्दा बढि गोलकर्ता खेलाडी ७ नम्बर वडाका शुभराज घोले घोषित भए ।
फाइनल खेलको म्यान अफ द म्याच थाहा ७ का असिम तामाङ घोषित भए ।
थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङको खेल मैदानमा १० माघबाट शुरु भएको प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो ।
१२ वटा वडा रहेको थाहानगरमा ५ नम्बर वडाको तर्फबाट प्रतियोगितामा सहभागिता हुन सकेको थिएन् ।
पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठ, ७ का अध्यक्ष शिवराज थिङ तथा वडा नम्बर ९ का वडाध्यक्ष राजकुमार बलामी, खेलकुद विकास समिति थाहा ९ का अध्यक्ष अमर सिंह ठकुरीका लगायतकाको उपस्थिती थियो ।













