जेसिस स्कुललाई भारतमा सम्पन्न प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपमा ५ स्वर्णसहित १० पदक

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-११ सतुंगलको जेसिस स्कुलले भारतमा सम्पन्न तेक्वान्दो च्याम्पियनसिपमा कूल १० पदक हात पारेको छ ।

भारतको ग्रेटर नोयडास्थित सुरजपुरमा गत आइतबारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिप जेसिसका विद्यार्थीहरूले ५ स्वर्ण तथा ५ रजत पदक हात पारेका हुन् । प्रतियोगितामा नेपालबाट सहभागिता जनाएको अन्य खेलाडीहरूले ६ स्वर्ण तथा ४ रजत पदक जितेको बताइएको छ ।  

समग्रमा २० पदक जितेको नेपाल टिम च्याम्पियन घोषित भएको जेसिस स्कुलका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए । 

प्रतियोगितामा कराँतेका अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा र कुमार लामा घिसिङसमेत सहभागी भएका थिए । प्रतियोगितामा सहभागी नेपाली टिम हिजो शुक्रबार स्वदेश फर्किएको छ ।

सो टोलीलाई जेसिस स्कुलका कार्यकारी अध्यक्ष रमेश चन्द्र श्रेष्ठ लगायतले स्वागत गरेका थिए । 

यसैबीच भारतमा सम्पन्न तेक्वान्दो च्याम्पियनसिपमा सहभागी खेलाडीहरूलाई शनिबार जेसिस स्कुलले सम्मान गरेको छ । विद्यालयमा जारी  कक्षा ११ र १२ को खेलकुद सप्ताहको अवसर पारेर सो सम्मान गरेको हो । 

सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष एवं नगरको सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलको समेत उपस्थिति रहेको विद्यालय प्रशासनले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *