महाशिवरात्रीका दिन सुरु हुने थानकोट गोल्डकप यसपटक आयोजना नहुनुको कारण यस्तो
थानकोट ।
आज महाशिवरात्री पर्व, देशभरका शिवालयहरूमा यस पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ ।
चन्द्रागिरि नगरका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरूमा पनि आज बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चनामा व्यस्त देखिन्थे । अहिले साँझ विभिन्न चोकचोकमा धुनि जगाउने क्रम जारी छ ।
हरेक वर्ष महाशिवरात्रीका दिन हजाराैं मानिसहरू भेला हुने चन्द्रागिरि नगरपालिका-३ थानकोट पिम्फिलीस्थित गलबन चाैर आज भने सुनसान देखिन्थ्यो।
उसो त हरेक वर्ष महाशिवरात्री पर्वका दिन थानकोट क्षेत्रमा फुटबल उत्सव सुरु हुने क्रम रहँदै आएको छ । चन्द्रागिरि नगरपालिका-३ थानकोट पिम्फिलीस्थित गलबन चाैरमा यसपटक फुटबलका कुनै गतिविधि देखिएनन् । देखिए त खुला चाैरमा सवारी साधन सिक्नेहरू तथा घाम तापिरहेका स्थानीयहरू ।
गत वर्ष चाैथो संस्करणको थानकोट फुटबल प्रतियोगिता सम्पन्न भएको थियो जसअनुसार यसपटक पाँचाैं संस्करण हुनुपर्ने थियो तर यसपटक महाशिवरात्रीका अवसरमा थानकोट गोल्डकपको कुनै सुरसार देखिएन् ।
थानकोट गोल्डकप फुटबल प्रतियोगिता संयोजन गर्दै आएका ईन्जिनियर भुवन गिरीले यसपटक विशेष कारण यसअघिकै तिथिमा थानकोट गोल्डकप सुरु गर्न नसकिएको जनाए ।
उनका अनुसार यसपटक पनि थानकोट गोल्डकप आयोजना हुनेछ । प्रतियोगिताका लागि व्यवस्थापकीय तयारी भइरहेको बताउँदै उनले दीर्घकालीन रुपमा कसरी गोल्डकप आयोजना जारी राख्ने भन्ने सन्दर्भमा व्यापक गृहकार्य जारी रहेकोले शिवरात्रीको साइतमा गोल्डकप सुरु नभएको प्रतिक्रिया दिए ।
तस्बिरः प्रकाश गोपाली ।













