आठौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपःचन्द्रागिरि न्यु डायमण्डको विजयी सुरुवात
थानकोट ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा चन्द्रागिरि न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ ।
आज सम्पन्न दिनको दोश्रो खेलमा न्यु डायमण्डले एपीएफमाथि ३-१ को सेटमा जित निकालेको हो ।
खेलको पहिलो सेट डायमण्डले २५-१७ ले आफ्नो पक्षमा पार्यो । तर, डायमण्डले दोस्रो सेटमा लय गुमाउँदा १७-२५ ले नतिजा सुम्पियो ।
तेस्रो सेट २५-१५ ले जित्दै डायमण्ड खेलमा फर्कियो । चौथो सेटमा एक समय ५ अंकको आरामदायी अग्रता लिएपनि एपिएफले बलियो चुनौती पेश गर्दा खेल २३-२३ को बराबरीमा पुगेको थियो ।
त्यसपछि डायमण्डले लगातार २ अंक जोड्दै २५-२३ को रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । डायमण्डकी लिवेरो सलिना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।-
न्यु डायमण्डले दोश्रो खेलमा बुधबार मधेश प्रदेशको सामना गर्ने तालिका रहेको छ ।
महिलातर्फ समूह एमा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् ।
दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।
समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ ।
दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।













