एसीसी प्रिमियर कपः नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले स्तब्ध

Thankot Times

थानकोट ।

ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम चारको यात्रा निश्चित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका आसिफले १८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । अर्का ओनपर कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन थपे ।  

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो ।

वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित २० बाट १८ ओभरमा घटाइएको थियो ।

हङकङका अंशुमन रथले ३४ रन बनाए । जिसान अलीले १४ रन थप्दा कप्तान निजाकत खानले १२ र एसान खानले ११ रन जोडे ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बोहराले २९ रन खर्चिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई र करण केसीले एक विकेट हात पारे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *