राष्ट्रिय महिला भलिबल प्रतियोगिताः उद्घाटन खेलमा चन्द्रागिरि न्यू डायमण्ड र आर्मी प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

काठमाडाैंमा आजबाट शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ । ४ टोलीको सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुनेछ ।

पहिलो खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला टोली र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ । यो खेल बिहान ११ः०० बजे सुरु हुनेछ । त्यसपछि उद्घाटन सत्र सुरु हुनेछ । न्यु डायमण्ड प्रतियोगिताको साबिक विजेता टोली हो ।

प्रतियोगिताको दोश्रो खेलमा साबिक उपविजेता एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्षको भन्दा यस पटक विजेताले १ लाख ९९ हजार रुपैयाँ बढि प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ सहित शेर बहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । पुरस्कार राशि १३ लाख रुपैयाँ बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *