राष्ट्रिय महिला भलिबल प्रतियोगिताः चन्द्रागिरि न्यू डायमण्डको विजयी सुरुवात

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बुधबारबाट काठमाडाैंमा सुरुभएको प्रतियोगिताको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले विजयी सुरुवात गरेको हो ।

खेलमा प्लेयर अफ दि म्याच मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन रह्यो जहाँ डायमण्डले पहिलो सेटमा २५–१२ को एकपक्षीय जित निकाल्यो । दोस्रो सेटमा पनि त्यही लयलाई कायम राख्दा डायमण्डले २५–१५ को सहज जित निकाल्दै जिततर्फ अग्रसर बन्यो ।

तेस्रो सेटमा भने आर्मीले सुधारिएको प्रदर्शन गर्दा डायमण्डले लय गुमाउँदा सेट पनि गुमाउन पुग्यो । तेस्रो सेटमा आर्मी २५–१७ ले विजयी हुँदै खेललाई कायमै राखे । चौथो सेटमा भने डायमण्डले २५–२१ को प्रतिस्पर्धात्मक जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

डायमण्डकी मिडल ब्लकर सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारबाट शुरु भएको प्रतियोगितामा नेपालका शीर्ष चार टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसपटक विजेताले गत वर्ष भन्दा १ लाख ९९ हजार रुपैयाँ बढी प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । पुरस्कार राशि १३ लाख रुपैयाँ बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *