गाेदावरी मेयर कप फुटबलः टोखालाई पराजित गर्दै मध्यपुर थिमी क्वाटरफाइनलमा, रोहनको ह्याट्रिक

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिकामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले विजयी सुरुवात गरेको छ । 

प्रतियोगिताको समुह इ मा रहेको मध्यपुरले सोमबार सम्पन्न दिनको एकमात्रै खेलमा काठमाडाैको टोखा नगरमाथि ४-० गोलको सहज जित दर्ता गर्यो । मध्यपुरका लागि रोहन खड्गीले ह्याट्रिक गर्दा यमन राजवंशीले १ गोल गरेका थिए ।

जितसँगै प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको मध्यपुर थिमीले क्वाटरफाइनलमा समुह एफ मा रहेका तारकेश्वर र कीर्तिपुर नगरबीच भोलि मंगलबार हुने खेलको विजेतासँग २२ बैशाखमा प्रतिस्पर्धा गर्नेछ । 

खेलको म्यान अफ दि म्याच मध्यपुरका रोहन खड्गी घोषित भए ।

यसअघि सम्पन्न खेलहरूमा जित हात पार्देै चन्द्रागिरि, महालक्ष्मी र नागार्जुन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् । 

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *