भक्तपुरमा कारको पछाडी स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर
थानकोट ।
भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
सोमबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-५ सृजना नगरमा जगातीबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१-०३०- च. ०९९५ नम्बरको कारलाई सोही दिशाबाट जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार चालक गम्भीर घाइते भई तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा दिउँसो साढे चार बजे निधन भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
मृत्यु हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ घर भई हाल माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङ रहेको कार्कीको भनाइ छ।
स्कुटरमा पछाडि सवार २३ वर्षीय राज तामाङको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ।
कार चालक सुनसरी धरान उप-महानगरपालिका-१३ घर भई हाल कलंकी बस्ने वर्ष ३१ को आशिष श्रेष्ठ प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा छन्।










