गोदावरी मेयर कप फुटबल: कीर्तिपुर नगरपालिका क्वाटरफाइनलमा, यमन महर्जनको ह्याट्रिक

Thankot Times

थानकोट।

ललितपुरको गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा कीर्तिपुर नगरपालिका विजयी भएको ।

जितसँगै कीर्तिपुर प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ ।

झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सम्पन्न खेलमा यमन मर्हजनको ह्याट्रिकमा तारकेश्वर नगरपालिकामाथि कीर्तिपुर ५-० गोल अन्तरको सहज जित दर्ता गर्न सफल भयो ।

कीर्तिपुरका इन्द्रबहादुर बस्नेतको नाममा २ गोल रह्यो ।

यमन खेलको म्यान अफ दि म्याच भए।

सेमीफाइनल प्रवेशा लागि अब कीर्तिपुरको भेट बैशाख २२ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिकासँग हुनेछ । मध्यपुर थिमीले सोमबार सम्पन्न खेलमा टोखामाथि ४-० गोल अन्तरको जित हात पारेको थियो । सो खेलमा  रोहन खड्गीले ह्याट्रिक पूरा गरेका थिए ।

यसअघि सम्पन्न खेलहरूमा जित निकाल्दै मध्यपुर थिमी नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन्।

प्रतियोगिता अन्तर्गत आज बुधबार बुढानिलकण्ठ नगरपालिका र काठमाडाैं महानगरपालिकाबीच मध्यान्ह १२ः३० बजे खेल हुने तालिका रहेको छ । यी दुवै टोली समुह जी मा रहेका छन् । आज नै समुह एच मा रहेका गोदावरी नगरपालिका बी टिम र ललितपुर महानगरपालिकाबीच अपरान्ह ३ः३० बजे खेल हुने तालिका रहेको छ ।

बुधबारका खेलसँगै प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेलहरू सकिनेछन् ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *