गाेदावरी मेयर कप फुटबलः आयोजक गोदावरी बी र काठमाडाैं महानगर क्वाटरफाइनलमा

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिकामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सबै खेल सकिएका छन्।

बुधबार आयोजक गोदावरी बी र काठमाडाैं महानगरपालिकाले आ-आफ्नो खेल जित्दै प्रतियोगिताको अन्तिम ८ मा स्थान पक्का गरेसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ ।

बुधबार सम्पन्न दिनको पहिलो खेलमा बुढानिलकण्ठ नगरपालिकामाथि सडेन डेथमा ४-३ गोल अन्तरले काठमाडाैं महानगरपालिका विजयी भएको थियो  खेलको निर्धारित समय बिना कुनै गोल सकिएपछि नतिजा पेनाल्टी सूटआउटमा निकालिएको हो ।

खेलमा एरिक विष्ट म्यान अफ द म्याच चुनिए । सेमीफाइनलमा स्थान बनाउन काठमाडाैं महानगरपालिकाले यहि शनिबार आयोजक गोदावरी बी को सामना गर्नेछ ।

बुधबार नै सम्पन्न दिनको दोश्रो तथा प्रतियोगिताको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा आयोजक गोदावरी बी ले ललितपुर महानगरपालिकामाथि सडेन डेथमै विजयी हुँदै प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो ।

खेलको निर्धारित समय समान २-२ गोलको बराबरीमा सकिएपछि आयोजक गोदावरी बी ललितपुर महानगरमाथि सडेन डेथमा हाबी भयो । पेनाल्टी सुटआउटमा गोदावरी ले विजयी भयो । खेलमा अनिल लामा म्यान अफ द म्याच चुनिए ।

सेमीफाइनल प्रवेशका लागि अब गोदावरीले शनिबार काठमाडाैं महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत आज बिहीबार कुनै खेल हुने छैनन् ।

भोलि शुक्रबार क्वाटरफाइनल खेलमा चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिका एवं दक्षिणकाली नगरपालिका र बागमती गाउँपालिकाबीच खेल हुने तालिका रहेको छ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *