सशस्त्रको गोदाममा आगलागी छानबिन प्रतिवेदनः चन्द्रागिरि नगरको दमकल तयारी अवस्थामा थिएन

Thankot Times

थानकोट ।

गत चैत्र २८ गते बलम्बुस्थित सशस्त्र प्रहरी बलको गोदाममा भएको आगलागीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले गृहमन्त्री रवी लामिछानेलाई प्रतिवेदन बुझाएको छ। 

समितिले १७ दिन लगाएर घटनास्थलको स्थलगत अनुगमनसमेत गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।

गृह मन्त्रालयले घटना भएकै दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो जसमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ सदस्य थिए ।

छानबिन समितिले

-गोदाममा सीसीटीभीको उचित व्यवस्थापन देखिएन
-सुरक्षा व्यवस्था र भण्डारण व्यवस्थापन कमजोर
-विद्युत शर्ट भएर आगलागी भएको आशंका
-सामान भण्डारण गर्दा प्रज्वलनशील र अप्रज्वलनशील वस्तु छुट्याएर नराखिएको 

लगायतको विषय प्रतिवेदनमा उल्लेख गरेको लोकान्तरले खबर छापेको छ ।

प्रतिवेदनमा छानबिन समितिले आगलागी स्थलमा दमकल ढिलो पुग्दा धेरै क्षति व्यहोर्नुपरेको तर्फ संकेत गर्दै स्थानीय तह (चन्द्रागिरि नगरपालिका) लाई समेत सचेत रहन सुझाव दिएको छ । 

‘दुई किलोमिटरको दूरीमा रहेको चन्द्रागिरि नगरपालिकाको दमकल पुग्न करिब ४५ मिनेट लाग्नु चरम लापरबाही हो,’ प्रतिवेदनमा भनिएको छ, ‘दमकल समयमै पुगेको भए क्षति कम हुने थियो ।’ 

सशस्त्र प्रहरीले भण्डारण कक्ष निर्माण गर्दा मापदण्ड अनुसार बनाएको भए क्षति कम व्यहोर्नुपर्ने व्यहोरा प्रतिवेदनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *