पाँचौं थाहा गोल्डकप जेठ ११ गतेबाट, विजेतालाई २ लाख नगद पुरस्कार
थानकोट ।
पाँचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता जेठ ११ गतेबाट इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितालाई शिखर क्लबले व्यवस्थापनको जिम्मा लिएको छ।
थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुँदै आइरहेको प्रतियोगितामा पहिलो संस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२-३२ टोलीको सहभागिता रहेको थियो भने चौथो संस्करणमा १८ टोलीले सहभागिता जनाएका थिए ।
यसअघिका संस्करणमा २५ हजार दर्शकले भौतिक उपस्थितिमा तथा ५ लाख दर्शकले विभिन्न सामाजिक सञ्जालमा प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेरेका थिए ।
राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं, धादिङ, हेटौँडा, चितवन, सिमरा लगायतका टोलीले भाग लिँदै आइरहेको प्रतियोगिताका व्यवस्थापक शिखर क्लबका अध्यक्ष बिश्व अर्यालले बताए ।
विगतमा सफलतापुर्वक सम्पन्न थाहा गोल्डकपबाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताको औचित्य भएको खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताए ।
उनले थाहा गोल्डकपबाट मकवानपुर जिल्लालाई खेलको माध्यमबाट परिचित गराउन समेत सहयोग पुर्यायको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय स्तरको टिममा जिल्लाको उत्तरी भेगको थाहा नगरपालिकाको समेत प्रतिनिधित्व हुने वातावरण बनाउन सफल हुने हुँदा प्रतियोगिताको आवश्यकता बढेर गएको धारणा राखे ।
पाँचौं संस्करणको प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकको अनुमान छ ।
१० दिन सम्म चल्ने प्रतियोगिताको लागि जेठ ८ गतेसम्म नाम दर्ता गर्न सकिने जनाइएको छ ।
प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।













